पृथ्वीकै सुरक्षित स्थानमा छुः ८१ वर्षीय मोरान्डी

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १७:५९
;

सिएनएन–आजका दिनसम्म कोरोना भाइरसले संसारमै सबभन्दा धेरै क्षति इटालीमा गरेको छ। लक-डाउन हुँदा धेरै मान्छे एक्लै बस्न परेर तनावग्रस्त छन्। 

इटालीकै ८१ वर्षीय माउरो मोरान्डीलाई यो सबैले केही प्रभाव पारेको छैन। न उनलाई त्रास छ, न एक्लोपनको चिन्ता। तीस वर्ष बढी भयो उनी एक्लै बसेको। घरमा होइन, सिंगो टापूकै उनी एक्ला बासिन्दा। 

इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा उनले आफ्ना जीवनका तीन दशक एक्लै बिताएका छन्। केही साताअघिदेखि उनी यही टापूमा बनेको आफ्नो सानो कुटीबाट संसारमा फैलिएको कोरोना त्रास नियालिरहेका छन्।

मोरान्डी आफ्नै खुसीले एकान्तमा बसेका हुन्।

 

उनी शिक्षक थिए। अन्वेषण गर्दै हिँड्थे। ३१ वर्षअघि इटालीदेखि पोलिनेसियाको यात्रा क्रममा गल्तीले बुडेली टापू पुगे।

कञ्चन पानी, चम्किला बालुवाका कण र सुन्तले रङमा सजिएर अस्ताइरहेको घामले एकैक्षणमा मोरान्डीलाई मोहनी लगाए। उनको मुटु चोरे। टापूको सुन्दरतामा मोहित मोरान्डी त्यहाँबाट फुत्कन चाहेनन्। जनम-जनमकी प्रेमिका भेटिएझैं उनले टापूको अंकमालमा आफूलाई समाहित गरिदिए।

मायालुका गुण-दुर्गुण, जिम्मेवारी सबै अपनाउनुपर्छ भनेझैं मोरान्डीले पनि आफूलाई टापूको संरक्षक माने। आफैं पद ग्रहण गरे। आज पनि उनी त्यही कार्यभार सम्हालिरहेका छन्। उनलाई अहिले पनि यहाँका झाडी र चट्टान अन्वेषण गर्न रमाइलो लाग्छ।

उनको यो ताज अहिले बाहिरी संसारले पनि स्वीकारेको छ। मोरान्डीलाई इटालीका 'रबिन्सन क्रुसो' मानिन्छ।

टापूको प्रकृतिमा लठ्ठिएका मोरान्डीलाई भौतिक सुख चाहिएको छैन। न सिंहमरमरको बंगला, न मलमलको विछ्यौना।

""

बुडेली टापूमा मोरान्डीको कुटी। तस्बिरः सिएनएन 

हरेक रात उनी पुरानो ढुंगाको कुटीमा सुत्छन्। हरेक बिहान हरियाली प्रकृतिका काखमा बिउँझिन्छन्। बिहान ब्रेकफास्ट खाँदै गर्दा चराचुरुंगी चिरबिर गर्दै उनलाई शुभबिहानी भन्छन्। झ्यालमा बसेका रंगीबिरंगी ती चरासँग मोरान्डी एकछिन गफिन्छन्।

यसरी एक्लै अनकन्टार ठाउँमा बसे पनि मोरान्डीलाई बाँकी संसारको खबर छ। इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय छन्। उनलाई थाहा छ, कोरोना भाइरसको फैलिँदो महामारी। अनि पहिलोपटक इटालीको 'सटडाउन'। त्यसपछि विश्वका बाँकी देश र सहरको।

यी सब समाचारपछि आफ्नो एकान्त संसारमा उनी अहिले 'पृथ्वीकै सुरक्षित स्थान' मा भएको महशुस गर्छन्।

'म ठीक छु, मलाई कुनै डर छैन,' उनले मोबाइल फोनमार्फत् सिएनएनसँग भनेका छन्, 'म यहाँ सुरक्षित महशुस गर्छु। यो टापूले सम्पूर्ण सुरक्षा प्रदान गर्छ। कुनै जोखिम छैन। एउटा पनि डुंगा यहाँसम्म आएको छैन। यहाँ कोही आउँदैनन्।'

आफू ढुक्क भए पनि हामी सबैलाई जस्तै उनलाई आफ्ना परिवार र साथीसंगीको भने चिन्ता छ। उनीहरू इटालीको मोडेनामा बस्छन्। मोडेना कोरोनाले धेरै प्रभावितमध्येको क्षेत्र हो।

मोरान्डी भन्छन्, 'उनीहरूले निकै कठिन समय सामना गर्नुपरेको छ। म बेचैन छु उनीहरूलाई सम्झेर।'

उसो त कोरोनाका कारण मोरान्डीलाई पनि केही सकस पक्कै छ। जाडो याममा पर्यटकहरू यो टापू आउँथे। अहिले सुनसान छ। यहाँ आउन प्रतिबन्ध छ। वर्षौंदेखि मोरोन्डी त्यहाँ पुग्ने पर्यटकसँग दिउँसो घुमघाममा जान्थे। उनीहरूसँग मित्रता गाँस्थे। कहिलेकाहीँ आफ्नो खाना पनि बाँड्थे।

अब उनलाई खाना ल्याइदिनेहरू छैनन्। उनले यसनिम्ति लामै समय पर्खनुपर्नेछ। 

अहिले एक्लै हुँदा मोरान्डी समुद्रको प्रशंसा गर्दै दिन बिताउँछन्। शुद्ध हावा लिँदै रमाउँछन्। दाउरा भेला पारेर खाना बनाउने तरखरमा लाग्छन्। यी सब गतिविधि उनी आफ्नो इन्स्टाग्राममा पोस्ट गर्छन्।

'मलाई कहिलेकाहीँ दिक्क लाग्छ। त्यसैले समुद्री तट र जंगली वातावरणको फोटो खिच्छु। ती फोटो एडिट गरेर सामाजिक सञ्जालमा राख्छु। विशेषगरी इन्स्टाग्राममा,' उनले भनेका छन्, 'त्यहाँ मेरा थुप्रै फलोअर छन्।'

""

मोरान्डी बस्ने बुडेली टापूबाट देखिएको दृश्य। तस्बिरः सिएनएन 

मोरान्डीलाई लाग्छ, यो भाइरसको बल चाँडै सकिनेछ। नसकिए त पर्यटकहरू आउँदो जुलाइसम्म पनि यो टापूमा आउने छैनन्।

पर्यटकबिना उनलाई कठिन हुनेछ। तर यसमा कुनै गुनासो नभएको बताउँछन् मोरान्डी, 'यो टापूमा आउने शान्त गर्मीले मलाई तर्साउँदैन।' 

यतिका वर्ष मान्छेबाट अलग्ग बसेका उनी आइसोलेसनमा कसरी बस्न सकिन्छ भन्नेबारे आफ्ना भोगाइ र अनुभवका आधारमा 'टिप्स' दिन उत्सुक छन्।

उनका अनुसार केही साता भित्रभित्रै बस्नु कुनै चिन्ताजनक विषय होइन। 'बरू आफ्नो आत्मा खोजीको अभ्यास गर्न निकै राम्रो अवसर हो,' आफ्ना अनुभवले भनेका हुन् उनले।

यो पूरै टापू आफ्नै भए पनि भूमध्यसागरको जाडो उनका लागि कठिन हुन्छ। ती केही महिना उनी आफैंले कैदमा बिताएका छन्।

'म जाडोको समय घरभित्रै बस्छु। महिनौंसम्म पनि टापूमा निकै कम हिँड्छु। त्यति बेला म रूखमुनि नै समय बिताउँछु,' अहिले मान्छेले एक्लै समय बिताउन नसक्नुलाई बेतुक मान्छन् उनी, 'मान्छे जम्मा दुई साता घर बस्न सक्दैनन्! यो निकै हास्यास्पद लाग्छ मलाई।'

मोरान्डी एक्लो बसाइमा निकै पढ्ने बताउँछन्।

'म धेरै पढ्छु। धेरै सोच्छु। तर मलाई लाग्छ मान्छे पढ्न डराउँछन्। किनकि पढेपछि उनीहरू ध्यान गर्न थाल्छन्। नानाथरी सोच्न थाल्छन्। यो निकै खतरनाक हुन सक्छ।'

ज्ञानको प्रभावमा उनले थपे, 'तपाईं कुनै कुरा फरक नजर वा कोणबाट देख्न थाल्नुहुन्छ, आलोचनात्मक हुन थाल्नुहुन्छ, तपाईंलाई आफ्नो जीवनको स्थिति थाहा हुन्छ। आफ्नो जीवन कति दयनीय, आफू कति खराब व्यक्ति र आफूले गरेका खराब काम सम्झेर बस्न थाल्नुहुन्छ।'

यो आत्मपरीक्षण सम्हाल्न सके ठूलो उपलब्धि हुने उनी बताउँछन्।

मोरान्डी यो टापूमा समेटिनुअघि हरेक वर्ष यात्रामा निस्कन्थे। उनी युरोपका एक्ला टापू पुग्थे। घुमन्ते अन्वेषकबाट यो टापूको एक्लो स्थायी बासिन्दासम्मको आफ्नो रूपान्तरणबारे उनी सुनाउँछन्।

""

बुडेली टापूमा मोरान्डी। तस्बिरः सिएनएन 

'मलाई यहाँ आइसकेपछि अब कुनै यात्रा गरूँजस्तो लागेन। कुनै उत्सुकता, कुनै चासो रहेन,' उनले भने, 'सबभन्दा सुन्दर, खतरनाक, साहसिक र उत्कृष्ट यात्रा आफूभित्रकै यात्रा हो भन्ने मैले बुझेँ। चाहे त्यो यात्रा बैठक कोठामा बसेर होस् या यहाँ। यही नबुझेकाले धेरैलाई केही नगरी घर बस्न गाह्रो भएको हुनसक्छ।'

उनी थप्छन्, 'तर म कहिले एक्लो महशुस गर्दिनँ।'

मोरान्डीका अनुसार धेरैजसो मान्छे आफैंसँग रमाउन सक्दैनन्। त्यसैले उनीहरू एक्लिन चाहँदैनन्। तर अहिले लक-डाउनका कारण एक्लै बस्न, आफ्नो सामना आफैं गर्न बाध्य छन्।

यो बाध्यतालाई फरक तरिकाले सोचेर धेरैले फाइदा लिनसक्ने उनी सुझाउँछन्, आफ्नो जीवनको पुनः मूल्यांकन गर्ने अवसर मान्छन्। उनलाई लाग्छ, मान्छेमा यति गर्ने धैर्य पनि छैन। 

'म मान्छे परिवर्तन हुन्छ भन्नेमा विश्वास गर्दिनँ,' उनी भन्छन्, 'केही व्यक्ति होलान्, तर बहुसंख्यक मान्छे आफ्नो सहज जीवनशैली र दौडधूपमा बानी परेका छन्।'

मोरान्डीको यो टापूमा कुनै हाँपदाँप छैन। समय एकनास चलिरहेको छ। जाडो कम हुँदै गएको छ। वसन्तको घामले टापूलाई न्यानो बनाउँदैछ। प्रदूषणरहित ताजा हावा छ। सफा पानी, रमणीय वनस्पति र बैजनी रङका चट्टानमा झल्किएका प्राकृतिक मूर्तिकला। बुडेली सम्पूर्ण भूमध्यसागरकै सबभन्दा सुन्दर टापू हो।

'यहाँ मेरो बिरालो पनि थियो। भर्खरै मर्‍यो,' मोरान्डी भन्छन्, 'त्यो बिरालो बीस वर्षको थियो। सायद यहाँको हावापानीले उसको आयु बढाएको हो।' 

बाहिरी संसारबाट आउनेलाई स्वर्गझैं लागे पनि मोरान्डीले बुडेली टापूको नाडी छामेका छन्। उनलाई थाहा छ, यो टापू जलवायु परिवर्तन र प्राकृतिक विनासबाट पूर्ण मुक्त छैन।

"Italian

बुडेली टापूको गुलाबी बालुवा। तस्बिरः सिएनएन 

केही समयअघि यहाँको समुद्री किनारमा गुलाबी बालुवाको स्पस्ट रेखा देखिन्थ्यो। चहकिलो गुलाबी र अलिअलि सुन्तले ती रेखा कोरल, क्रिस्टल, जीवाश्म र मृत समुद्री जीवहरूले बनेका थिए। त्यति बेला यो किनार अस्ताउँदो घाम वरिपरिको भागजस्तै देखिन्थ्यो।

'त्यो गुलाबी रेखा हराइसकेको छ, देख्न मुश्किल हुन्छ,' उनले भने, 'बुडेलीमा बहने हावाको दिशा बदलिएको छ। गुलाबी बालुवा अब पहिलेजस्तै थुप्रिने छैन।'

मोरान्डीको झन्डै आधा जीवन बितेको यो टापूको स्वामित्व पछिल्ला केही वर्षमा धेरैपटक फेरियो। सन् २०१६ देखि यो सरकारी स्वामित्वको राष्ट्रिय निकुञ्ज भएको छ। त्यसपछि उनलाई यहाँ बस्न नदिने कुरा उठेको थियो। उनी यहाँ बस्न सरकारसँग लडिरहेका थिए।

कोरोना भाइरसका कारण सरकारले मोरान्डीको बसाइबारे तत्कालै केही निर्णय नगर्ने सम्भावना छ। उनले यहाँ अझै केही समय बस्ने मौका पाएका छन्।  

उनी बस्ने कुटी जीर्ण छ। पुनर्निर्माणको खाँचो छ। तै पनि ८१ वर्षीय मोरान्डी सन्तोक मान्छन्, 'अहिले मलाई चाहिने सबथोक छ। कामचलाउ बत्ती छ, बगिरहेको पानी छ। सानो चुलो पनि छ। कुनै गुनासो छैन।'

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*