कोरोनाको चिन्ताले जर्मनीका अर्थराज्यमन्त्रीले गरे आत्महत्या
जर्मनीको हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री (प्रान्तका अर्थमन्त्री) थोमस साफरले आत्महत्या गरेका छन् । उनको आत्महत्याको कारणहरुका बारेमा पनि खोजी भइरहेका छन् । धेरैले कोरोना भाइरस संक्रमणबाट अर्थतन्त्र संकटमा पर्न लागेको र जनतालाई अपेक्षा अनुसार राहत दिन नसकेमा चिन्ता व्यक्त गर्दै उनले आत्महत्या गरेको हुन सक्ने आँकलन गरेका छन् ।
उनी मुलुककै आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थिए । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो । थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत थिए ।
कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनी केही समयदेखि निकै चिन्तामा डुबेका त्यहाँका सञ्चार माध्यमहरुले लेखेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या नै देखिएको छ । साफरले सर्वसाधारणको अपेक्षा पूरा गर्न कसरी काम गर्न सकिन्छ भनेर सोचिरहन्थे । बारम्बार चिन्ता पनि गर्दथे । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेपछि उनी थप चिन्तित भए ।
जनताको आकांक्षा पूरा हुने अवस्था नदेख्दा उनी आत्म हत्या गर्न पुगेका हुन सक्ने उनको निकटस्थहरुलाई उल्लेख गर्दै अल जजिरा लगायतका सञ्चार माध्यमले लेखेका छन् । तथापि, कोरोना भाइरसको असर कम पर्न दिन जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले आकर्षक आर्थिक प्याकेजहरु भने घोषणा गरिरहेका छन् ।
एजेन्सी