कोरोनाको कहरः लकडाउन बढाउँदै इटाली

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार १७:०८
;

इटाली सरकारले देशमा तीन सातादेखि जारी लकडाउनलाई लम्ब्याउने बताएको छ। कोरोना भाइरसको महामारीलाई रोक्न तीन सातादेखि राष्ट्रव्यापी लकडाउनमा रहेको इटालीले पूर्व निर्धारित समयावधि सकिन केही दिन बाँकी रहँदा यस्तो बताएको हो।

तेश्रो साताको लकडाउन यही शुक्रबार सकिदैं छ। इटालीका स्वास्थ्यमन्त्री रोबेर्टो स्पेरान्जाले सरकारलाई परामर्श दिने एक वैज्ञानिक कमिटीसँगको बैठकपछि यस्तो बताएका हुन्।

'जोखिम न्यूनिकरणका सबै उपायहरूलाई कम्तीमा ईस्टरसम्म लम्ब्याइने छ। सरकार यही दिशामा जानेछ', उनले भने।

इटालीले लकडाउन जारी रहने नयाँ अन्तिम मिति नदिएपनि सरकारको प्रस्ताव अनुसार तोकिने जनाएको छ।

यस वर्षको 'ईस्टर सन्डे' अप्रिल १२ मा पर्छ।  

इटाली हाल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकको सूचिमा पहिलो स्थानमा छ भने संक्रमित संख्यामा तेश्रोमा छ।

त्यहाँ हालसम्म कोरोना भाइरसको संक्रमणबाट ११ हजार ५ सय ९१ जनाको ज्यान गइसकेको छ भने १ लाख १ हजार ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी बितेका २४ घण्टामा ८ सय १२ जनाको मृत्यु भएको छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन्।

यस्तै इटालीको चिकित्सकहरूको संगठनले त्यहाँ हालसम्म संक्रमितको उपचारमा खटिएका ६१ जना चिकित्सकहरू ज्यान गएको जनाएको छ।

संघले सोमबारमात्रै ११ जना थप चिकित्सकको ज्यान गएको बताएको थियो।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*