कोरोनाको संक्रमणबाट १२ वर्षीय बालिकाको मृत्यु
बेल्जियममा १२ वर्षीया बालिका कोरोनाभाइरसबाट मृत्यु हुने सबभन्दा कम उमेरकी रोगी बनेको अधिकारीहरूले बताएका छन् । महाव्याधिका कारण बेल्जियममा ७०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
प्रायः वृद्धवृद्धाको ज्यान लिने कोरोनाले बालबालिकालाई पनि शिकार बनाइरहेको देखिएको छ ।
रोगका कारण बालिकालाई गुमाउनु परिवारका लागि ‘भावनात्मक रूपमा अप्ठ्यारो क्षण भएको’ अनि स्वास्थ्यकर्मी र अनुसन्धातालाई पनि गाह्रो परेको संकट व्यवस्थापन केन्द्रका प्रवक्ता इम्मानुएल आन्द्रेले मंगलवार बताए ।
‘हामीहरू उनको परिवार र साथीभाइको स्मरण गरिरहेका छौं । यस्तो घटना दुर्लभै हुने गर्छ र यसले हामीलाई निकै चिन्ता दिएको छ,’ उनले बताए ।
बेल्जियममा कोभिड–१९ का १२ हजार ७०५ केसहरू छन् । कुल ७०५ जनाको मृत्यु भइसकेको छ । केही दिनमा महामारी चरममा पुग्ने आन्द्रेले बताए । अस्पतालहरूले धान्न नसक्ने स्थिति आउनुअघि नै महामारी चरममा पुगेर घट्न थाल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
अन्य मुलुकमा जस्तै बेल्जियममा पनि लकडाउन लगाइएको छ । अप्रिल १८ सम्म लकडाउन जारी रहनेछ ।एजेन्सी