पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली संक्रमित

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार १७:१७
;

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरे ।

उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन्।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*