‘कोरोना भाइरस’ शब्दमा प्रतिबन्ध, मास्क लगाउनेलाई जेल हाल्ने
विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)ले महामारीको रुप लिएको छ । तर, मध्य एसियाली देश तुर्कमेनिस्तानले ‘कोरोना भाइरस’ शब्दमाथि नै प्रतिबन्ध लगाएको छ ।
तुर्कमेनिस्तानको समाचार एजेन्सी तुर्कमेनिस्तान क्रोनिकलका अनुसार त्यहाँको सरकारले मिडिया, शिक्षण संस्था र सरकारी कार्यालयहरुलाई कोरोना भाइरस शब्दको प्रयोग नगर्न आदेश जारी गरेको छ । अहिले त्यहाँका अधिकारीहरु ‘कोरोना भाइरस’ को सट्टा ‘श्वासप्रश्वासको रोग’ जस्ता शब्द प्रयोग गरिरहेका छन् ।
युरोपेली समाचार एजेन्सी रेडियो फ्रि यूरोपका अनुसार तुर्कमेनिस्तानको राजधानी अशगबतका सडकमा कोरोना भाइरसबारे कुरा गर्ने, अनुहारमा मास्क लगाउने मानिसलाई प्रहरीले पक्राउ गर्नसक्छ । कोरोना भाइरसका बारे कसैले कुरा गर्छ की भनेर सादा पोशाकका प्रहरीले सडकमा निगरानी गरिरहेको समाचारले जनाएको छ ।
तुर्कमेनिस्तान सरकारले आफ्नो देशमा कोरोना भाइरसबाट कोही पनि पीडित नभएको बताएको छ । यद्यपि, रेलवे र बस स्टेशनमा मानिसहरुको तापक्रम जाँच्नेदेखि भिडभाड हुने स्थानको विशेष सफाई जस्ता रोकथामका महत्वपूर्ण काम पनि भइरहेका छन्।