कोरोनाको कहरः स्विडेनबासीले भने “जो बाँच्छ उसैले देख्नेछ ”

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार १९:३७
;

बल्लबल्ल सकिएको जाडोपछि लागेको न्यानो घाम ताप्न सधैँझैँ स्टकहोमको सबैभन्दा ठूलो स्क्वायरमा यतिखेर मान्छेहरुको भीड छ । त्यहाँ न कसैलाई लकडाउनको पर्वाह छ न कोरोनाको चिन्ता । मानिसहरू फूल पसलमा डुलिरहेका देखिन्छन् भने बालबालिका साइकल चलाइरहेका छन्, दर्जनौँ मानिस बेन्चमा बसेर घाम तापिरहेका छन् भने कति बाहिर आउट डोर रेस्टुरेन्टमा बसेर खाइरहेका छन् ।

जहाँ बाँकी विश्व कोभिड–१९ का कारण लकडाउनमा घरभित्र थुनिएर बसेको छ त्यहीँ स्वीडेन बासीहरूका लागि भने, दिनहरू सधैँ जसरी सामान्य चलिरहेका छन् । 

त्यसरी नै आफ्ना साथीहरूको समूहमा बसेर बियर पिउँदै गरेकी ग्रोसरी स्टोरमा काम गर्ने २८ वर्षीया सेन्ड्रा बर्कभिस्ट भन्छिन्, “के बाहिर साँच्चै त्यति भयानक अवस्था छ ? ” उनले फेरि भनिन्, “अवश्य पनि हामी संवेदनशील मानिसहरूका लागि चिन्तित छौँ तर मिडिया नहुने हो भने हामीलाई दुनियाँमा त्यस्तोसम्म भइरहेको छ भन्ने कतै कहीँ आभास हुँदैन ।” 

यसरी युवाहरू मात्र नभएर उच्च जोखिमको समूहमा पर्ने नागरिकहरू समेत त्यति धेरै चिन्तित छैनन् । जस्तै ८० वर्षीया कोरनर र ६७ वर्षीया एरिक्सन पनि त्यही मान्छेले भरिएको सार्वजानिक स्क्वायरमा थर्मोसबाट कफी खाँदै आरामले बसिरहेका छन् । उनीहरूलाई थाहा छ, यो बेला बाहिर निस्कनु ठीक होइन तर पनि अरूबाट दूरी बनाएर राख्दा र ‘कमन सेन्स’ लगाउँदा संक्रमणबाट बच्न सकिने उनीहरू बताउँछन् ।

एरिक्सन भन्छिन्, “हाम्रो सरकारले एकदम राम्रोसँग काम गरिरहेको छ । र यहाँका अधिकांश नागरिकहरू जिम्मेवार छन् । त्यसैले पनि हामीलाई कुनै चिन्ता छैन । ”

कोरोनाबाट संक्रमित हुनेको संख्या सोमबारसम्ममा १३ लाख पुगेको छ भने विश्वव्यापी रुपमा ७३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तर यो विश्व संकटसँग लड्न स्वीडेनले चाहिँ बाँकी राष्ट्रहरू भन्दा अलगै बाटो अपनाइरहेको छ । छिमेकी देशमै सबै स्कुल, रेस्टुरेन्ट, सिमाना र पसलहरू बन्द भइसक्दा समेत स्वीडेनका नागरिकहरू काममा गइरहेका छन् भने प्राइमरी स्कुल, डे कियर, घुम्नलाई पार्क, जिम आदि सबै खुला छन् ।

अत्यावश्यक परिस्थितिबाहेक आन्तरिक उडान नगर्न भनिएको छ र जेष्ठ नागरिकलाई सकेसम्म घरमै बस्न प्रोत्साहन गरिएको छ । तर सबै अनिवार्य नियमका रूपमा भने कार्यान्वयन गरिएको छैन । स्वीडेनको सरकारले गत मार्च २९ मा मात्र सार्वजानिक रूपमा भेला हुनेको सङ्ख्या ५०० जनाबाट ५०जनाको समूहमा घटाएको हो र यो साता थप नीति नियम अपनाउनुपर्ने सम्बन्धी छलफल गरिनेछ । 

तर यसको अर्थ स्वीडेन कोरोनाबाट ‘इम्युन’ छ भन्ने चाहिँ होइन । आइतबार त्यहाँ मृत्युको सङ्ख्या ४०० पार गरेको छ । प्रधानमन्त्री स्टेफन लोभेनले शनिबार मात्र सञ्चारकर्मीसँग बोल्दै हजारौँको मृत्यु हुन सक्ने हुँदा तयारी अवस्थामा रहन भनेका हुन् किनकि स्टकहोमका एक तिहाइ वृद्धाश्रमहरूमा कोभिड–१९ को संक्रमण देखा परिसकेको छ । तर पनि शनिबार र आइतबार बिदाका दिन राजधानी स्टकहोमका सार्वजनिक स्थलमा प्यान्डेमिकको कतै कुनै संकेत देखिएन ।

३० वर्षीया लिन्डा एकेसन भन्छिन्, “ हो एक दुई साता सहर पूरै खाली भएको थियो तर मान्छेहरू भित्र बस्दाबस्दा वाक्क भए । यसकारण अहिले सबैजना सरकारको सुझाव अनुरुप आफैँ निर्णय लिई आफ्नै जोखिममा बाहिर निस्किरहेका छन् । यसमा सबैले सकेसम्म सार्वजानिक सवारी साधनको प्रयोग नगर्ने प्रयास गरिरहेका छन् र गरे भने पनि त्यसमा कुनै आपत्ति छैन ।” उनी आफैँ पनि कम्युटर ट्रेनमा चढेर साथीलाई भेट्न जान लागिरहेकी थिइन् ।

यसरी केही समय अगाडि गरिएका विभिन्न अध्ययन र सर्वेक्षणहरूमा समेत स्वीडेनका नागरिक कोरोनासम्बन्धी सबैभन्दा कम चिन्ता गर्ने देशवासीमा परेका हुन् । त्यहाँका सबैजना विश्व महामारीको क्षति कम गराउन स्कुल र सिमाना बन्द गराउनु भन्दा परीक्षण तिव्र गराइ, क्वारेन्टाइनमा जोड दिनुपर्नेमा विश्वास गर्छन् ।

अर्की एक ३५ वर्षीया आर्टिस्ट मिकेला क्लेभ भन्छिन्, “म अहिले जति सक्दो सामान्य जीवन बिताउने प्रयास गरिरहेकी छु । किनकि सबैकुरा एकैपटक बन्द भएर रोकिए पनि कङ्गाल हुने अवस्था आउन दिनु हुँदैन । हाम्रो स्वास्थ्य प्रणालीलाई पनि पैसा आवश्यक छ जुन हामीले तिर्ने करबाट प्राप्त हुन्छ ।”

यसबीच स्वीडेनवासीहरूमा एउटा भनाइ पनि लोकप्रिय बनेको छ, “जो बाँच्छ उसैले देख्नेछ ।”स्रोतः १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*