कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न ट्रम्पलाई डब्लुएचओ प्रमुखको आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन्।
उनले विश्व एकतामा जोड दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको पक्षमा लागेको भन्दै पछिल्लो समय विश्व स्वास्थ्य संगठनका निरन्तर आलोचना गर्दै आइरहेका छन्।
मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाहहरु जारी गरेको आरोप लगाएका थिए।
उनले संगठनलाई अमेरिकाले दिदैं आएको आर्थिक सहयोग रोक्ने चेतावनीसमेत दिएका थिए।
महानिर्देशक ट्रेडोसले ट्रम्पले लगाएका ती आरोपहरुको खण्डन गर्दै राजनीतिकरण बन्द गर्न आग्रह गरेका हुन्।
‘हामी प्रत्येक राष्ट्रको नजिक छौं। हामी रगं छुट्याउन नसक्ने भएका छौं’, उनले ट्रम्पको टिप्पणी खारेज गर्दै भने।
राष्ट्रपति ट्रम्पले मगंलबार ह्वाइट हाउसमा भनेका थिए, ‘उनीहरुले यसलाई गलत भनेका छन्, तर अब हामी सगंठनलाई दिदैं आइरहेको कोष कटौती गर्नेछौ। यसले ठुलो क्षति पुग्छ, परिमाणहरु नियाल्ने छौं।’
यसको जवाफमा महानिर्देशक ट्रेडोसले राष्ट्रिय एकता कायम गर्न र कोरोना भाइरसलाई राजनीतिसँग नजोड्न आग्रह गरेका हुन्।
‘सबैभन्दा शक्तिशालीले नेतृत्व गर्नुपर्दछ। अहिलेको समयमा कृपया कोरोना राजनीतिलाई क्वारेन्टाइन गरियोस्’, उनले भने।
अमेरिकाले दिने सहयोग रकम कटौती गर्ने धम्कीका बारेमा ट्रेडोसले अमेरिकी सहयोग जारी रहने विश्वास व्यक्त गरेका छन्। एजेन्सी