विश्वभर कोरोनाको कारण ९५ हजारको मृत्यु, संक्रमितको संख्या १६ लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ९५ हजार भन्दा बढी पुगेको छ । संक्रमितको संख्या भने १६ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा १६ लाख ३ हजार १ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोही अवधिमा ९५ हजार ६ सय ९३ जनाको मृत्युको कारक कोरोना भाइरस बनेको छ ।
संक्रमितमध्ये हालसम्म ३ लाख ५६ हजार ४ सय ४० जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन् । अहिले विश्वका २ सय ९ देश तथा क्षेत्रमा कोरोना भाइरसका ११ लाख ५१ हजार ३१ जना बिरामी उपचारत छन् । यीमध्ये ४९ हजार १ सय २५ को अवस्था गम्भीर रहेको छ भने ११ लाख १ हजार ९ सय ६ को अवस्था सामान्य रहेको छ ।
कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको हो । त्यसयता विश्वका २ सय ९ देश तथा क्षेत्रमा फैलिसकेको छ । अहिले विश्वमा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको भने मृत्यु इटालीमा भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, ब्राजिल, पोर्चुगल र अष्ट्रिया रहेका छन्।
अमेरिकामा हालसम्म ४ लाख ६८ हजार ५ सय ६६ जनामा कोरोना भाइसको संक्रमण भएको पुष्टि भइसकेको छ, जसमध्ये १६ हजार ६ सय ९१ जनाको मृत्यु भइसकेको छ ।
इरानमा कोरोना भाइरस संक्रमितको संख्या ६६ हजार २ सय २० पुगेको छ, जसमध्ये ४ हजार १ सय १० जनाले ज्यान गुमाइसकेका छन्। बेलायतम संक्रमितको संख्या ६५ हजार ७७ रहेकोमा ७ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ। टर्कीमा ४२ हजार २ सय ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ९ सय ८ जनाको मृत्यु भएको छ।