छोरोको लाश लिएर रुदैँ दौडिएकी महिलाको भिडियोले उठ्यो स्वास्थ्य सेवामा प्रश्न
भारतको बिहार राज्यको जहानाबादको सडकमा तीन वर्षको छोराको लाश लिएर रुँदै दौडिएकी महिलाको भिडियो अहिले चर्चामा छ ।
मुटु कँपाउने यो भिडियोमा महिला दौडिरहेकी छन् भने उनको पछाडि उनका पति हिँडिरहेका छन् ।
स्थानीय पत्रकार गौरवले भिडियो खिचेका हुन् । उनले भने, ‘यो परिवार अरवल जिल्लाको सहोपुर गाउँमा बस्छ । बालकलाई रुघाखोकी लागेको थियो । उपचारका लागि पिताले कुर्थाको प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए ।
गम्भीर हालत देखेपछि चिकित्सकहरूले जहानाबाद केन्द्रीय अस्पताल रेफर गरे । त्यो अस्पतालले पटना जान भन्यो । पटना जानका लागि परिवारले एम्बुलेन्स पाएन र बालकको मृत्यु भयो ।’
त्यसपछि रुँदै कराउँदै यी महिला बालकको लाश लिएर गाउँ फर्केकी थिइन् । पछि एक स्थानीय सामाजिक कार्यकर्ताले घर जानका लागि परिवारलाई गाडी उपलब्ध गरायो ।
स्वास्थ्य विभागका प्रधान सचिव सञ्जय कुमारले यस विषयमा ट्वीट गर्दै लेखे, ‘जिल्ला अस्पतालमा तीन एम्बुलेन्स थिए तर दिनुपर्छ भनी उनीहरूले सोचेनन् । डीएमको अनुसन्धानमा चार नर्स, दुई चिकित्सक र स्वास्थ्य व्यवस्थापकलाई दोषी पाइएको छ । उनीहरूविरुद्ध कडा कारवाही हुन्छ ।’
बिहारको कमजोर स्वास्थ्य व्यवस्था यसका लागि जिम्मेवार छ । कोरोना संकटका कारण अन्य रोग लागेका बिरामीहरूले निकै समस्या भोग्नु परिरहेको छ । स्रोतः लोकान्तरखबर











