भारतमा लकडाउन थपिएपछि हजारौं मजदुर प्रदर्शनमा उत्रिए, क्वारेन्टाईनबाट हजारौं भागे
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतमा जारी लकडाउन लम्बिएपछि त्यसको अवज्ञा गर्दै मजदुरहरुले प्रदर्शनमा उत्रिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन बढाएपछि भारतको विहार र उत्तर प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेका मजदुर बाहिर निस्किएर विरोधमा उत्रिएका छन् । विभिन्न ठाउँबाट मुम्बई पुगेका मजदुरले बान्द्रा रेल स्टेसनमा घर फर्कन पाउनुपर्ने माग गर्दै प्रदर्शन उत्रिएका हुन् ।
अधिकांश मजदुर मंगलबार लकडाउन अन्त्य भएपछि घर फर्कने आशामा रहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार मजदुरलाई लखेट्न प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रहरी अधिकारीका अनुसार उत्तर प्रदेश र पश्चिम बंगालबाट आएका हजारभन्दा बढी मजुदर प्रदर्शनमा सहभागी भएका छन् । भारतका विभिन्न शहरमा लकडाउनका कारण करिब १० करोड मजदुर अलपत्र परेको सञ्चारमाध्यमले जनाएका छन् । कपितय भने सयौं किलोमिटर हिंडेरै घर पुगेको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले लकडाउनको पालना गर्न आश्वान गरे पनि मजदुरहरुको समस्याका बारेमा नबोलेको विरोधमा उत्रिएका मजजुरको गुनासो छ ।