मृत शरीरबाट पनि कोरोना फैलिने वैज्ञानिक खुलासा
विश्वलाई त्रस्त र ग्रस्त बनाईरहेको कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरुबाट कोरोनाको संक्रमण अन्य जीवित व्यक्तिमा सर्छ कि सर्दैन भन्ने कुराले सबैलाई सताईरहेको थियो ।
विश्वका अधिकांश मानिसहरु कोरोना भाइरसको संक्रमणले मृत्यु भएकाहरुको मृत शरीरबाट अन्य जीवित व्यक्तिमा कोरोनाको संक्रमण फैलिने खतरा कति हुन्छ वा हुँदैन, भन्ने उत्तर खोज्दै गरेको अवस्थामा भर्खरै मात्र वैज्ञानिकहरुको एक टिमले आफ्नो शोधबाट नयाँ तथ्य फेला पारेका छन् ।
वैज्ञानिकहरुको उक्त टिमले संक्रमण पछि मृत्यु भएकाहरुको मृत शरीरबाट पनि कोरोना भाइरस फैलिने पुष्टि गरेका छन् । Mirror.Co.Uk मा प्रकाशित खबरका अनुसार, जर्नल अफ फोरेन्सिक एण्ड लीगल मेडिसिन स्टडीले थाइल्याण्डमा मृत शरीर चेकअप गर्ने एक मेडिकल डाक्टरलाई कोरोनाको संक्रमण भएको कुरा अध्ययन बाट पत्ता लगाएको हो ।
साथै आफ्नो उो अध्ययन पछि वैज्ञानिकहरुले कुनै पनि मृत शरीरबाट अन्य जीवित मानिसमा कोरोना सरेको यो नै पहिलो केस भएको बताएका छन् ।
जर्नल अफ फोरेन्सीक एण्ड लिगल मेडिसिन स्टडीका अनुसार, मार्चमा नै डेड बडीको माध्यमबाट मेडिकल एग्जामिनरलाई संक्रमण भएको थियो । तर पुष्टि भने हुन बाँकि थियो ।
जर्नलमा यो रिपोर्ट चीनका ह्यानान मेडिकल युनिभर्सिटीका विरोज विवानिटकिट र बैंककको आरबिटी मेडिकल सेन्टरका वान श्रीभिजितलईले लेखेका हुन् ।
यो भन्दा पहिला थाईल्याण्डका केहि फ्युनरल होमले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्न इन्कार गरेका थिए । त्यसपछि २५ मार्चमा थाईल्याण्डको डिपार्टमेन्ट अफ मेडिकल सर्भिसेजका प्रमुखले डेड बडीबाट संक्रमण नफैलिने बताएका थिए ।
हेल्थ एक्सपर्टले कोरोना भाइरसबाट मृत्यु भएकाको सम्पर्कमा आएका र फ्युनरल होममा काम गर्नेहरुलाई पनि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट दिनुपर्ने चेतावनी दिएका छन् ।
डब्ल्युएचओले पनि कोरोना भाइरसबाट मृत्यु भएकाहरुको मृत शरीरबाट संक्रमण नफैलिने बताएको थियो ।
डब्ल्युएचओले कोरोना संक्रमितहरुको निधनपछि अन्तिमसंस्कारको समयमा सतर्कता अपनाउन भने सबैसँग अपील गरेको छ ।
अहिले सम्म कोरोना महामारीबाट मृत्यु भएकाहरुबाट कति जनालाई कोरोनाको संक्रमण भयो भन्ने बारेमा केहि तथ्य आईसकेको छैन ।
कोरोना भाइरसको कारण सारा विश्वमा यो समाचार तयार पार्दासम्म २० लाख ४ हजार ९८९ जनालाई संक्रमण भएको छ भने १ लाख २६ हजार ८३० जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ५१ हजार ५९६जनाको अवस्था गम्भीर रहेको छ । ४ लाख ८५ हजार ३६२ जना निको भएका छन् ।
एजेन्सी










