जापानमा कोरोना संक्रमितको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा ५ सय ६८ जनामा संक्रमण
जापानमा पछिल्लो २४ घण्टामा ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरस संक्रमणका ५ सय ६८ वटा नयाँ घटना देखिएको जनाएको हो ।
जापानमा हालसम्म १० हजार ३ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । यद्यपि, यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानी जहाजका ७ सय १२ जना समेत गरी जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएका छन् । कोरोना संक्रमणका कारण जापानमा हालसम्म १ सय ७४ जनाको मृत्यु भएको छ ।
जापानमा कोरोना संक्रमितको संख्या अमेरिका र युरोपको तुलनामा कम छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् ।
जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ ।
विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गर्नु भएको थियो । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गरेका थिए ।