कोरोनाको दोस्रो लहर झनै खतरनाक हुनसक्ने विज्ञको चेतावनी
कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर झनै खतरनाक हुनसक्ने अमेरिकाका एकजना वरिष्ठ विज्ञले चेतावनी दिएका छन् । आगामी जाडो महिनामा साधारण फ्लु को यामसँगसँगै कोरोनाभाइरसको दोस्रो लहरको सङ्क्रमण हुनसक्ने उनले बताएका छन् ।
अमेरिकाका कैयन् राज्यहरूले अर्थतन्त्र पुनः खुला गर्ने तयारी गरिरहँदा सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडिसीका निर्देशक रोबर्ट रेडफिल्डले उक्त चेतावनी दिएका हुन् ।
रेडफिल्डका अनुसार दोस्रो लहरको सङ्क्रमण साधारण फ्लु फैलने मौसममा हुनसक्ने भएकाले त्यसले दोहोरो चाप पार्नसक्छ । स्वासप्रस्वाससम्बन्धी दुई थरी प्रकोप एकसाथ आइपरेमा त्यसले अमेरिकी स्वास्थ्यसेवा प्रणालीमा अकल्पनीय भार पर्ने उनले बताए ।
आगामी जाडो याममा भाइरसले गर्ने आक्रमण हालै हामीले बेहोरेकोभन्दा अझ चुनौतीपूर्ण हुनसक्छ, उनले भने ।