अस्ट्रेलियामा सडक दुर्घटनामा मारिए ४ प्रहरी अधिकारी, भागेका चालक पक्राउ
स्ट्रेलियाको मेलबोर्नमा चारजना प्रहरी अधिकारीको ज्यान जाने गरी भएको खतरनाक दुर्घटनापछि घटनास्थलबाट भागेका कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । पोर्श कार चलाउने रिचर्ड पुसीले उक्त दुर्घटना गराएका हुन् ।
उनले दुर्घटनाको तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेको अनि दुर्घटनास्थलबाट भागेको बताइएको छ । दुर्घटना क्यु भन्ने ठाउँको ईस्टर्न फ्रीवेमा साँझ ५ः४० मा भएको थियो ।
भिक्टोरिया प्रान्तमा यति धेरै प्रहरी एकैपटक मारिएको यो पहिलो घटना हो । पुसी पछि आफैं प्रहरीसमक्ष आत्मसमर्पण गर्न आएका थिए ।
दुई वरिष्ठ कन्स्टेबलरहरू र दुई कन्स्टेबलहरू दुर्घटनामा मारिएका थिए । तीमध्ये एकजना भर्खरै प्रहरी बलमा भर्ती भएका थिए ।
पुसीले १४० किलोमिटर प्रतिघन्टाको गतिमा कार चलाएको देखेपछि प्रहरीले रोकेका थिए । उनले लागूऔषध सेवन गरेर गाडी चलाएको शंका लागेपछि प्रहरीले परीक्षणका लागि पठाएको थियो । पछि उनले सेवन गरेकै हो रहेछ भन्ने पत्ता लगाएपछि गाडी बरामद गरियो ।
त्यसै क्रममा चिस्यान जडिएको एउटा ट्रक त्यही बाटोबाट आयो । त्यही ट्रकले सडकछेउमा उभिरहेका प्रहरी अधिकारीहरूलाई किच्यो ।
ट्रक चालकलाई चोटपटक लागेपछि अस्पताल लगिएको छ । प्रहरीले उसलाई सोधपुछ गरिरहेको छ । उसले पनि लागूऔषध वा मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
पुसी चाहिँ दुर्घटनाको तस्वीर खिचेर पैदलै भागेको प्रहरीको भनाइ छ ।
स्रोतः लोकान्तर