गद्दार खोज्नका लागि किम जोङले फैलाएका थिए आफ्नो मृत्युको खबर, कसको भाग्य खोटियो ?

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार १६:५५
;

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको अडकलबाजी मिडियामा खुबै छाएको भए पनि एउटा कारखानाको उद्घाटनमा उपस्थित भएर उनले सबै अनुमान विफल बनाइदिए । 

तर उनी तीन हप्तासम्म किन गायब भए भन्ने विषयमा चाहिँ अहिले आएर रहस्योद्घाटन भएको छ । उनले आफ्नो मृत्युको झूटो खबर दिन लगाएको बताइएको छ । 

बेलायतबाट निस्कने द सन पत्रिकाको एक खबरअनुसार, आफ्नो सत्तालाई कमजोर बनाउन खोज्ने गद्दार को हो भनी पत्ता लगाउनका लागि किमले मृत्युको खबर फैलाएका हुन् । यो उनको फगत नाटक थियो ।

किमलाई सत्ताच्युत गर्न वरिपरिकै मानिसले षड्यन्त्र बुनिरहेको खबर पाएपछि आफू मरेको हल्ला फिँजाउने अनि को खुशी हुन्छ भनी हेर्ने उनको उद्देश्य रहेको खबरमा उल्लेख गरिएको छ । 

द सनले पनि अस्ट्रेलियाको स्काई टेलिभिजनमा प्रसारण गरिएको समाचारलाई उद्धृत गरेको हो । उक्त टीभीको स्काई आउटसाइडर्स कार्यक्रममा प्रस्तोता जेम्स मोरोले सोभियत रुसका नेता जोसेफ स्टालिनकै तरिका अपनाएर आफ्नो मृत्युको खबरलाई जनताले कसरी लिन्छन् भनी किमले हेर्न खोजेका हुन् भने । 

अब उनले मानिसहरूको प्रतिक्रियाको आधारमा षड्यन्त्रकारीको पहिचान गर्ने र तिनलाई सफाया गर्ने अभियान थाल्ने मोरोको भनाइ छ । 

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका पूर्व राजदूत थाए होङ–योले किम गम्भीर बिरामी भएको वा मरेको भनी गरेको अनुमान झूटो भएको छ र उनको विश्वसनीयतामा प्रश्न उठेको छ । झूटो अनुमान गरेकोमा उनले माफी समेत मागिसकेका छन् । 

त्यसो त किम २० दिनपछि सार्वजनिक हुँदा पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले कुनै खबर दिएको थिएन । 

आफ्नो अनुपस्थितिमा देशका अन्य नेताले कसरी काम गर्छन् भनी हेर्नु पनि किमको उद्देश्य रहेको थियो । अब उनले गद्दारहरूको सफाया गर्ने सम्भावना छ ।स्रोतः लोकान्तरखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*