जहाँ कोरोना संक्रमणको जोखिममा पनि रोकिएन गृहयुद्ध

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १४:२९
;

क्यामरुनलाई टुक्राएर छुट्टै राज्य बनाउन चाहने एक समूहले २९ मार्चमा युद्धविरामको घोषणा ग¥यो । यो खबर सुनेर क्यामरुनका एक मानव अधिकारवादी कार्यकर्ता डा. बिएट्रिस तितांजी खुसीले नाचे ।

अफ्रिकाको मध्यभागमा पर्ने यो देशका नागरिकलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन संयुक्त राष्ट्रसंघले युद्धविरामको आह्वान गरेको थियो । तर, एउटा समूहको घोषणाका वाबजुद त्यहाँ युद्धविरामको कुनै असर देखिएन । अहिले पनि सरकारी सेना र विद्रोहीबीच लडाइँ जारी छ ।

क्यामरुनमा १५ भन्दा बढी छुट्टै स्वतन्त्र राज्यका पक्षधर विद्रोही समूहहरु छन् । एउटाबाहेक ती सबै समूह अहिले पनि युद्धमा छन् । युद्धविराम गर्ने सदर्न क्यामरुन डिफेन्स फोर्सेज (एससीडीएफ) त्यहाँको ठूलो विद्रोही समूह होइन ।

डा. तितांजीका अनुसार त्यहाँ हजारौँ मान्छे जंगलमा फसेका छन् । ती नागरिकलाई कोभिड–१९ बारे जानकारी दिन असंभव छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एटोनियो गुटेरेजको आह्वानपछि एउटा समूह सदर्न क्यामरुन डिफेन्स फोर्सेज (एससीडीएफ) ले युद्धविरामको घोषणा गरे पनि त्यो लागू हुन सकेन। गुटेरेजले भनेका थिए, “भाइरसको आतंकको वेला युद्ध एक मूर्खता हो । सशस्त्र संघर्षलाई लकडाउनमा राखेर एकसाथ हाम्रो जिन्दगीको वास्तविक लडाइँ लड्नुपर्छ ।”

""

त्यहाँको सबैभन्दा ठूलो विद्रोही समूह एंबाजोनिया गवर्निङ काउन्सिलले युद्धविरामपछि सरकारी सैनिक विना अवरोध आफ्नो क्षेत्रमा छिर्नसक्ने भन्दै महासचिव गुटेरेजको आह्वानलाई अस्वीकार गरेको छ । त्यहाँका विद्रोही समूहले केही क्षेत्र नियन्त्रणमा राखेर आधार इलाका बनाएका छन् ।

क्यामरुन पहिला बेलायत र फ्रान्सको उपनिवेश थियो । त्यहाँ फ्रेन्च र अंग्रेजी भाषा बोलिन्छ । अहिले फ्रेन्च बोल्ने राष्ट्रपति पाल बियाको नेतृत्वमा सरकार छ। तर, सरकारले शान्तिको लागि आह्वान गरेको छैन ।

उनले कोरोनाभाइरस संक्रमण फैलाउन रोक्नका लागि मानवीय सहायता लैजाने जहाज पनि रोक लगाउने निर्णय गरेका छन् । व्यापारिक उडानमा यसअघि नै रोक थियो ।

क्यामरुनको उत्तर पश्चिम र दक्षिण पश्चिम क्षेत्रमा कोरोनाभाइरस संक्रमण कम देखिएको छ । गृहयुद्ध पनि यी क्षेत्रमा नै केन्द्रित छन् । तर, विस्तारै संक्रमण दर बढिरहेको छ ।

क्यामरुनमा अहिलेसम्म कोरोनाभाइरसका करीब तीन हजार संक्रमित फेला परेका छन् । तीमध्ये १३९ जनाको मृत्यु भएको छ । देशका ग्रामीण तथा शहरी क्षेत्र अहिले पनि बन्दाबन्दीमा छन्। स्थानीयलाई घरबाहिर निस्कन कडा रोक लगाइएको छ । तर, ती क्षेत्रमा युद्ध भने जारी छ ।

अप्रिलको अन्त्यतिर करीब ३०० सरकारी सेनाले विद्रोही विरुद्ध एक साता लामो कारबाही गरेको थियो । सेनाले १५ विद्रोहीको मृत्यु भएको र दुई वटा सैन्य क्याम्प ध्वस्त बनाएको दाबी गरेको थियो ।

विद्रोहीले कब्जामा लिएका तीन सरकारी अधिकारीको खोजीमा सेनाले कारवाही अहिले पनि जारी राखेको छ । ती अधिकारीलाई विद्रोहीले गएको महीना नियन्त्रणमा लिएका थिए ।

स्रोत: बीबीसी हिन्दी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*