बलात्कारमा ज्यान गुमाएकी युवतीको परिवार भेट्न जाँदा राहुल र प्रियंका पक्राउ

काठमाडौं । प्रतिपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कारमा ज्यान गुमाएकी युवतीका परिवारलाई भेट्न जाँदा यूपी पुलिसले बाटैबाट हिरासतमा लिएको हो ।
दिल्लीबाट काफिला ग्रेटर नोएडानजिक पुग्दा प्रहरीले रोकेपछि राहुल र प्रियंका पैदल हिँडेर हजारौ कार्यकर्तासँग हाथरसका लागि प्रस्थान गरेका थिए। त्यहाँबाट प्रहरीले गिरफ्तार गरेर एक्सप्रेस–वेस्थित गेस्ट हाउसमा लगिएको कांग्रेसले जनाएको छ ।
घटनापछि राहुल गान्धीले हाथरस पीडित परिवारलाई भेटेर न्यायका लागि दबाब दिन कसैले रोक्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
१४ सेप्टेम्बरमा आमा र भाईसँग खेतमा घाँस काट्न गएका बेला दलित समुदायकी युवतीको उच्च जातिका चार जनाले सामूहिक बलात्कार गरेका थिए । मंगलवार राती दिल्लीको सफदरजंग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
जिब्रो काटिएको र कम्मरको हाड भाँचिएर बेहोस अवस्थामा फेला परेकी २० वर्षीया युवतीको मृत्यु भएपछि देशभर विरोध भइरहेको छ ।