युरोपमा कोरोना भाइरस, एकै दिनमा ६ सयको मृत्यु

विश्व भर कोरोना भाइरसले महामारीको रुप लिएको छ । चिनबाट सुरु भएको कोरोना भइरस हाल युरोपभर फैलिएको छ । भाइरसको कारण युरोपमा दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखिइरहेको छ । साथै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
विश्वभर कोरोना भाइरसबाट १५ हजाभन्दा बढीमा संक्रमण देखिएको छ । करिब ११ हजार नयाँ संक्रमित युरोपका मात्र रहेका छन् भने ५ सय बढीको मृत्यु भएको छ । चीनपछिको सबैभन्दा प्रभावित मुलुक इटालीमा भाइरसको कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय कटिसकेको छ । मंगलबार मात्र इटालीमा भाइरसको कारण ३४५ जनाको ज्यान गएको थियो ।
स्पेन कोरोना भाइरसबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिले स्पेनमा भाइरसको कारण मृत्यु हुनेको संख्या ५३३ पुगिसकेको छ । मंगलबार एक दिनमा मात्र स्पेनमा १ हजार ८ सय भन्दा धेरै नयाँ संक्रमित देखिएका थिए ।
मंगलबार नै जर्मनी मात्र करिब २ हजार १ सय मानिसमा संक्रमण देखिएको छ भने भाइरसको कारण नौ को मृत्यु भएको थियो । त्यस्तै फ्रान्समा पनि एक हजारभन्दा धेरै संक्रमित थिए भने २७ जनाले ज्यान गुमाएका थिए ।
उता बेलायतमा भने १६ जनाको ज्यान गएको थियो भने झण्डै ५०० जनामा नयाँ संक्रमण देखिएको छ ।
एकै दिनमा ११ हजारभन्दा बढी मानिसमा नयाँ संक्रमण देखिनुले युरोपमा कोभिड–१९ को प्रकोप र त्रास झनै बढाएको छ । यो भाइरस नियन्त्रणको लागि भन्दै युरोपेली मुलुकले ३० दिनका लागि आफ्नो मुलुकमा आउजाउ गर्न प्रतिबन्ध लगाएका छन् ।